काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल र गठबन्धनविरुद्ध नबोल्न निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तहमा गठबन्धनविरुद्ध नजान र नबोल्न निर्देशन दिएको हो।
त्यस्तै चुनावी सभाहरूलाई चुस्त र छरितो बनाउन आग्रह गरेको छ। चुनावी सभा र प्रचारप्रसार समेतमा गठबन्धनलाई सामेल गरी व्यवस्थित गर्न निर्देशन दिएको हो।
बैठकले स्थानीय तह, वडा र टोलमा हुने चुनावी सभाको मापदण्ड तय गरेको हो। मापदण्ड अनुसार चुनावी सभा र प्रचारप्रसारका कार्यक्रम चुस्त र छरितो हुनुपर्ने छ। चुनावीसभा बढी दुई घण्टासम्म मात्रै सञ्चालन गर्नुपर्ने छ।
नेपाली कांग्रेसका उपसभापति समेत रहेकां स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले चुनावमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए। ‘गठबन्धनलाई साथसाथै लैजानुपर्छ। गठबन्धन बिना कांग्रेस पनि बलियो हुन सक्दैन,’ उनले भने।
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि सबै प्रदेश, पालिकामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ।