धनगढी : स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको वालिङ नगरपालिका १२ मा आज बिहान सवा १० बजे तिर जिप सडक सतहबाट तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।
‘जिप अनियन्त्रित भएर खसेको छ। चार जनाको घटनास्थलमै मृत्यु भएको छ,’ प्रहरी निरीक्षक थापाले भने, ‘तीन जना घाइते छन्। उनीहरूको उपचारको लागि पठाइएको छ।’
घाइतेको उपचारको लागि दुई जनाको वालिङस्थित प्राथमिक अस्पताल र अर्को एक जनाको गण्डकी अस्पताल पोखरामा पठाइएको छ। गण्डकी अस्पतालमा पठाइएका व्यक्तिको अवस्था गम्भीर भएको थापाले बताए।
घटनास्थलमा प्रहरी नायब उपरीक्षक सहितको टोली खटिएको छ। दुर्घटनास्थलमा खोजी समेत गरिरहेको प्रहरीले जनाएको छ।
गाडीमा ११ जना सवार रहेको र गाडी करीब १०० मिटर तल खसि रुखमा अड्किएको घटनास्थलमा रहेका पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।
फोटो : पत्रकार प्रकाश डुम्रेको फेसबुक वालबाट