डडेल्धुरा : जिल्ला कृषिगणना कार्यालय डडेल्धुराको आयोजनामा मिति २०७८ चैत्र २५ गतेदेखि संचालित राष्ट्रिय कृषिगणना २०७८ सम्बन्धि गणक तथा सुपरिबेक्षक तालिम सम्पन्न भएको छ ।
गणकहरुको तालिम बैशाख २ गते र सुपरिवेक्षकहरुको तालिम बैशाख 3 सम्पन्न भएको हो। सो तालिममा डडेल्धुरा जिल्लाका ७ वटै स्थानीय तहका गणक र सुपरिवेक्षक गरि ४८ जनाको सहभागिता रहेको थियो ।
यहि बैशाख ६ गतेदेखि जेष्ठ १९ गतेसम्म कृषिगणना कार्य सञ्चालन हुने जिल्ला कृषि गणना अधिकृत चन्द्र बहादुर पालले बताए ।
नेपालमा वि.सं. २०१८ (सन् १९६१) देखि कृषिगणना गर्ने काम शुरु भएको हो । प्रत्येक १०/१० वर्षको अन्तरमा कृषिगणना सञ्चालन हुँदै आएको छ ।
वि.सं. २०७८ को राष्ट्रिय कृषिगणना नेपालको सातौं र वि.सं. २०७२ मा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणालीको पहिलो कृषिगणना हो । कृषिगणना आर्थिक स्रोत साधन र जनशक्ति परिचालनको हिसाबले केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने जनगणना पछिको राष्ट्रव्यापी एक महाअभियान हो ।
नेपालका प्रत्येक स्थानीय तहको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादन सम्बन्धी विवरण सङ्कलनका लागि केन्द्रीय तथ्याङ्क विभागले सातौं गणनाका रुपमा राष्ट्रिय कृषिगणना २०७८ सञ्चालन गर्न लागेको छ ।
२०७८ सालको यो कृषिगणनाले नेपालको इतिहासमा ६० वर्षको अवधि पूरा गर्नेछ र संघीय ढाँचा अनुसारका तल्ला स्थानीय तहसम्मका कृषि सम्बन्धी तथ्याङ्कहरु उपलब्ध गराउने अपेक्षा गरिएको छ । कृषिगणनाबाट कृषि क्षेत्रको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्कहरू (Benchmark Statistics) प्राप्त हुन्छन् ।