डडेल्धुरा ,५ वैशाख । जिल्लाको गन्यापधुरामा विपन्न परिवारलाई लक्षित गरी सिड्स नेपालले हरित उत्थानशीलता तथा कोभिड प्रतिकार्य कार्यक्रम लागू गरेको छ ।’कसैलाई पनि पछि नछुटाऔँ’ भन्ने नारासहित युएनडिपी र गन्यापधुरा गाउँपालिकाको साझेदारीमा गन्यापधुरामा एक बर्षे नमुना परियोजना कार्यक्रम लागू गरेको हो ।
युएनडिपी र गन्यापधुरा गाउँपालिकाको साझेदारीमा सिड्स नेपालको कार्यान्वयनमा गाउँपालिकामा विपन्न परिवारलाई आत्म निर्भरता बनाउने उद्देश्यले ३ सय २० परिवारले प्रत्यक्ष लाभान्वित हुने सिड्स नेपाल डडेल्धुराकी अध्यक्ष शारदा रावलले जानकारी दिइन् ।
जसअन्तर्गत २ सय ४० परिवारमा कृषि र वनमा आधारित रोजगारी सृजना, ४५ परिवार बजारीकरणसंग सम्बन्धित रोजगारी र ३५ परिवारमा जलवायु अनुकूलनसँग सम्बन्धित नयाँ प्रविधि मैत्री व्यवसायलाई प्राथमिकता दिइने अध्यक्ष रावलले बताइन् ।
विपन्न परिवारलाई लक्षित गरी जीविकोपार्जन सहजसँगै उनीहरूको आम्दानी वृद्धि गरिने कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रम ४० परिवार भैँसी पालन, ७०/७० परिवार नगदेबाली आलु र अदुवा खेती, ४५ बजारकरिण (कृषि सामग्री उत्पादन,बेकरी उद्योग निर्माण , पशु आहार उत्पादन, चुक (अमिलो) प्रशोधन, सङ्कलन गर्ने काम) र जलवायु अनुकूलन, सिचाइ पोखरी, रिचार्ड पोखरी, सिचाई कुलो , सुधारिएको घट्ट निर्माण गरी ३५ परिवारलाई लाभान्वित गराइने कार्यक्रम रहेको कार्यक्रम संयोजक देवीलाल उपाध्यायले जानकारी दिए ।
यसअघि आलिताल गाउँपालिकामा सिड्स नेपालको कार्यान्वयनमा युएनडिपी र आलिताल गाउँपालिकाको साझेदारीमा (२०१९/२०२२) तीन वर्षे सो कार्यक्रमबाट १ हजार २० परिवार लाभान्वित भइसकेका छन्