धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमाल उम्मेदवारी दर्ता गराएका छन् । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ नारा लेखिएको ब्यानरसहित सयौं समर्थकका साथमा जुलुससहित निर्वाचन कार्यालय पुगेका उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसका तर्फबाट नृपबहादुर वड र प्रमुख प्रतिपक्षबाट नेकपा एमालेबाट रणबहादुर चन्द उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज ११ गते र भोलि १२ गते मनोननयनपत्र दर्ताको कार्यतालिका राखेको छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरू भएको छ । देशैभरी उम्मेदवारी दर्ता गराउन अहिले उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालय पुग्न थालेका छन् । २०७४ को स्थानीय तहको चुनावमा पनि हमाल धनगढीको मेयर उठेका थिए । त्यतिबेला हमालले ११ हजार ५ सय २७ मतका साथ दोस्रो भएका थिए । त्यतिबेला पनि उनका अहिलेका प्रतिस्पर्धी नेपाली काँग्रेसबाट उम्मेदवार रहेका नृपबहादुर वड विजयी भएका थिए ।