डडेल्धुरा : नेपाली कांग्रेसले डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २८ वर्षका भरत जोशीलाई उम्मेदवार बनाएको छ ।
सोमबार जोशीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी कांग्रेसको परशुराम नगरसमितिका अध्यक्षसमेत हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा नगरसभापतिमा निर्वाचित जोशीलाई नै कांग्रेसले मेयरको उम्मेदवार बनाएको हो ।
यसअघि परशुराम नगरपालिकाको मेयरमा कांग्रेसबाट भीमबहादुर साउद निर्वाचित भएका थिए । साउद कांग्रेसको जिल्ला सभापति निर्वाचित भएपछि उनले मेयरमा नदोहोरिने घोषणा गरेका थिए ।
डडेल्धुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।
मेयरका उम्मेदवार जोशीले चीनबाट स्नात्तकोत्तर अध्ययन पूरा गरेका छन् । उनी पछिल्लो दुई वर्षदेखि गृहनगरमै बसेर सामाजिक कार्यमा सक्रिय थिए ।
चुनावी गठबन्धन गर्ने सत्तारुढ दलबीच केन्द्रमा सहमति भएपनि डडेल्धुरामा भने दलहरु विभाजित भएका छन् ।