डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण तथा पदभार सम्हालेका छन्। शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले आलिताल गाउँपालिकाका उपाध्यक्ष, ८ वटै वडाका अध्यक्ष र वडासदस्यहरूलाई शपथ खुवाएका हुन्।
अध्यक्ष पार्कीले बिहीबार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माबाट शपथ लिएका थिए। नवनिर्वाचित अध्यक्ष पार्की र उपाध्यक्ष मैनाकुमारी रावल बोहराले पदभार ग्रहण गरेका छन्।
पालिकाका कर्मचारीहरूले नवनिर्वाचित अध्यक्ष पार्की र उपाध्यक्ष रावललाई खादा लगाएर गाउँपालिकामा स्वागत गरेका थिए। आलितालमा कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रबाट अध्यक्ष पार्की र उपाध्यक्षमा रावल विजयी भएका थिए।
८ वडा रहेको आलितालमा माओवादी केन्द्र र एमाले समान ३/३ तथा कांग्रेस २ वडामा विजयी भएको थियो।
आलिताल–१ मा नेकपा एमालेका यज्ञ बहादुर देउवा, २ मा नेपाली कांग्रेसका प्रमोद मल्ल, ३ मा माओवादीका बलबहादुर बुढा, ४ मा एमालेका कमलसिंह बोहरा, ५ मा माओवादीका डम्बरबहादुर ढाँट, ६ मा एमालेका कुम्भर बुढा, ७ मा माओवादीका वीरबहादुर बोहरा र ८ नम्बर वडामा कांग्रेसका धनबहादुर देउवा विजयी भएका थिए।