डडेल्धुरा : डडेल्धुराका सातवटै स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ।
नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालाई धन्यवाद दिनमा व्यस्त छन्।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत नेकपा माओवादी केन्द्रबाट आलिताल गाउँपालिका अध्यक्षमा निर्वाचित शेरसिंह पार्की पनि गाउँ–गाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन्।
अध्यक्ष पार्की किसानको खेत बारीमै पुगेर मतदातालाई धन्यवाद दिँदै छन्। अहिले यहाँका किसानलाई मकै छर्ने चटारो छ। त्यसैले अध्यक्ष पार्की खेत बारीमै पुगेर चुनाव जिताएकोमा मतदातालाई धन्यवाद दिइरहेका हुन्।
यसका साथै मतदाताहरूले विजयी जनप्रतिनिधिलाई अविर, माला लगायर आफ्नो गाउँमा स्वागतसमेत गरिरहेका छन्।
मतदाताले आफ्नो गाउँ–ठाउँको समस्या सामाधान गरिदिन नवनिर्वाचित अध्यक्ष पार्कीलाई आग्रह गरेका छन्। उनले आफूले चुनावका बेला गरेका सबै बाचाहरू पाँचवर्षे कार्यकालमा पूरा गरेर छाड्ने प्रतिबद्धता जनाएका छन्।
कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांग्रेसकै जलाकुमारी विष्ट बोगटीलाई पछि पार्दै माओवादीकै मैनाकुमारी रावल बोहरा उपाध्यक्षमा विजयी भएकी थिइन्। अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याएका थिए।
उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाएका थिए। पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराए। उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत पाउँदा कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याएकी थिइन्। ८ वडा रहेको आलितालमा माओवादी केन्द्र र एमाले समान ३–३ तथा कांग्रेस २ वडामा विजयी भएको थियो। डडेल्धुरा न्युजबाट