डडेल्धुरा : आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले पालिकामा धनगढी बराबार सुविधा दिने अस्पतालको निर्माण गर्ने वताएका छन्।
मतदातालाई धन्यवाद दिन आइतबार आलिताल–३ चौड पुगेका गाउँपालिका अध्यक्ष पार्कीले गोदाममा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने बताएका हुन्।
‘सबैभन्दा पहिला हामी आलितालको गोदाममा धनगढी बराबार सुविधा दिने अस्पतालको निर्माण गर्नेछौँ। अस्पताल नबन्दासम्म प्रत्येक वडामा निःशुल्क एम्बुलेन्स सेवा दिन्छौं,’ उनले भने,‘चुनावका बेलामा पनि हामीले यो काम गर्ने भनेर प्रतिबद्धता गरेका थियौं। फेरि म यो कुरालाई दोहोर्याउँछु।’
उनले चुनावका बेला गरेका प्रतिबद्धताहरू नबिर्सिने पनि बताए।यसअघि पुराना विचारबाट चलिरहेको गाउँपालिकालाई नयाँ विचारबाट निर्देशित भई पालिकालाई चलाउने अध्यक्ष पार्कीको भनाइ छ।
उनले विकासका सवाजमा जनताको माझमा आएर हातेमालो गएर कार्यक्रमहरूलाई अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे। हालै माओवादी केन्द्रबाट अध्यक्ष बनेका पार्की र उपाध्यक्ष मैनकुमारी रावल बोहरा गाउँ–गाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन्।