डडेल्धुरा । ई-नयाँबिचार डटकममा हिजो सोमबार आलितालमा मृत भेटिएका देवर भाउजुको शब डडेल्धुरा ल्याइँदै भन्ने शिर्षकको समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले नै गलत सुचना दिएका हुन् । मृतकहरुको शव डडेल्धुरा नभइ जोगबुढा लगिएको बुझिएको छ ।
हिजो सोमबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ताले हामिलाई दिएको जानकारी अनुसार आलिताल गाउँपालिका वडा नं ३ कैलाश समैजेश्वर सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा देवर–भाउजूको शव फेला परेको थियो । घटना स्थलमा जिल्ला बाट डिएसपी सहितको टोलि गएको र घटना स्थलमा बारे अनुसन्धान गरि देवर भाउजुको शब पोस्टमार्टमका लागि डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालमा ल्याउन लागिएको प्रबक्ताले बताएका थिए । पछि उनले अन्य सञ्चार माध्यममा भने शबलाई पोस्टमार्टमको लागि जोगबुढा लगिएको नै बताएका थिए ।
इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक गंगा दत्त बडुलाई सो बारे बुझ्दा मृतक भेटिएका देवर भाउजुको शब पोस्टमार्टमका लागि परशुराम स्थित जोगबुढा अस्पताल लगिएको जानकारी प्राप्त भएको छ । उनले भने “घटनास्थलमा अन्य कुनै प्रमाण फेला नपरेको र पोष्टमार्टमपछि घटनाबारे थप विवरण खुल्ने बताए ।
‘बाटो नजिकैको १०/१५ फिट उचाई भएको रुखको एकै हाङ्गामा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्,’ इन्सपेक्टर बडूले भने, अहिले शवलाई जोगबुढा अस्पताल लगिँदैछ। त्यहाँ पोष्टमार्टम हुन्छ। घटनाबारे बाँकी अनुसन्धानबाट खुल्छ।’
अहिले दुवै जनाको शब पोस्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको छ । उक्त शवहरुको आज १० बजे पोस्टमार्टम हुने बडुले जानकारी दिएका छन् ।