डडेल्धुरा । राष्ट्रियसभा सदस्य महेशकुमार महराले रंगुन तटबन्धका लागि बजेट विनियोजन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार राष्ट्रियसभामा बजेट छलफलमा सहभागी हुँदै महराले रंगुन नदीमा तटबन्ध निर्माणका लागि माग गरेपनि सरकारले बजेटमा नसमेटेकोमा आक्रोश व्यक्त गरेका हुन्।
‘डडेल्धुराको भित्रीमधेशमा एक रंगुन नदि छ। त्यो नदीले कटान गरेर जमिनहरू मासेको छ। मैले तटबन्धका लागि माग गरेको थिएँ,’ उनले भने,‘तर, ती योजनाहरू बजेटमा समावेश हुन सकेनन्। त्यहाँका यर्थात समस्या लिएर मैले पेश गरेको थिएँ। सबै मन्त्रालयका बजेट त्यतातिर मैले केन्द्रित भएको देखेको छैन। अध्यक्षमार्फत् म मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’
यो बजेटमा नसमेटिएपनि अन्य कुनै ठाउँबाट आफ्नो मागको सम्बोधन गर्न सकिन्छ कि सकिँदैन भन्दै राष्ट्रियसभा सदस्य महराले मन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको आरोपसमेत लगाएका छन्।
उने डडेल्धुरा परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी अस्मितादेवी धामीको निधनबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
धामीको हत्या भएको वा बलात्कारपछि हत्या गरिएको हो भन्नेबारेमा एकवर्ष पुग्दासमेत सरकारले यस विषयमा बोल्न नसकेको बताए। यहाँ कस्तो प्रशासन र सुशासन कायम गरिँदै छ भन्दै सांसद महराले धामीको मृत्यु प्रकरणबारे गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन्।‘
‘निर्मला पन्तका त प्रमाणहरू नष्ट गरिए। तर अस्मितादेवी धामीको त प्रमाणहरू थिए। ती प्रमाणहरूको आधारमा हामी अनुसन्धान गर्न सक्छौं कि सक्दैनौं? यहाँ राज्य गम्भीर हुनुपर्छ कि पदैन?,’ उनले प्रश्न गर्दै उनले भने, ‘यहाँ राज्य गम्भीर हुनैपर्छ र राज्यले नागरिकको सुरक्षा गर्नैपर्छ।’ उनले निर्मला पन्त र अस्मितादेवी धामीको अनुसन्धानकाबारेमा गृहमन्त्रीको जवाफसमेत माग गरेका छन्।
गत वर्षको असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुडा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको केहीदिनपछि स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो। उनको अनुहारमा नीलडाम र टाउकोमा घाउ देखिएकाले हत्याको आशंका गरिएको थियो। तर, अहिलेसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।