डडेल्धुरा । जिल्लाको सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालयले आज साउन १ गतेबाट स्कुल बस सञ्चालनमा ल्याएको हो । सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालनमा ल्याइने महेन्द्र मावि जिल्लाको पहिलो विद्यालय हो ।
स्कुल बस सञ्चालनमा आएपछि टाढाका विद्यार्थीहरुलाई सहज भएको छ। बस सेवा सुरु भएपछि टाढाका विद्यार्थीलाई आवतजावतमा सहज भएको कक्षा ९ मा अध्ययनरत छात्रा ज्योति ओझाले बताइन् । बस सेवाले पछिल्लो समय गुणस्तीय शिक्षा प्रदानका लागि चर्चित बनिरहेको महेन्द्र माविमा अध्ययन गर्न पाउने विद्यार्थीको धोको पूरा हुने बताइएको छ।
बस सेवा सुरु भएसँगै सदरमुकामसँग जोडिएका पोखरा, स्याउले र आइतबजारबाट समेत विद्यार्थी आउने विद्यालयका शिक्षक किशोर बमले बताए। ‘अब टाढाका विद्यार्थीले हाम्रो विद्यालयमा अध्ययन गर्न पाउने भएका छन्। सामुदयिक विद्यालयमा उत्कृष्ट बनिरहेको महेन्द्र माविले बस सञ्चालनमा ल्याउनु गर्वको कुरा हो’ उनले भने।
भारत सरकारले महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको थियो। नेपालमा रहेको भारतीय राजदूतावासले विद्यालयलाई अनुदान सहायतास्वरूप बस प्रदान गरेको हो।











