काठमाडौं : काठमाडौंको नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै असार २३ गते राती १ बजेको समयमा सन्तोषी माताको मन्दिरको ताल्चा फोडी चोरी गरेको सूचनाका आधारमा अनुसन्धान गरेको थियो। परिसर तथा प्रहरीवृत्त मालीगाउँबाट संयक्तरुपमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो।
घटनाबारे जानकारी पाउने बितिकै मन्दिरमा पुगी अनुसन्धानका विविध विधि र प्रविधिहरूको प्रयोग गरी घटनामा संलग्न अभियुक्तको पहिचान एवं चोरी भएका गरहगनासहितको खोजी कार्य शुरु गरिएको थियो।
मूर्तिमा जडित सुनचाँदीको गरगहनालगायतका सामग्रीसहित नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा गौरीघाट बस्ने सबिना पराजुली, खरिबोट बस्ने विष्णु पछाई र गौरीघाट सिद्दार्थ बुढाथोकी रहेको उनले बताए।
उनीहरूबाट सुनको तिलहरी, चाँदीको करुवा, चाँदीको चुकुन्दा, चाँदीको मुकुट, चाँदीको गिलास लगाएतका सामाग्री फेला परेको मैनालीले बताए।
पक्राउ पर्नेहरूलाई काठमाडौं जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई प्रहरीवृत्त, मालीगाउँबाट थप अनुसन्धान भईरहेको मैनालीले जानकारी दिए।