काठमाडौं । नेकपा (एमाले) का सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद धामीले सुदूरपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँच पटक प्रधानमन्त्री बनाए पनि सुदूरपश्चिमका लागि केही नगरेको बताए । उनले प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिए पनि भोट बालुवामा पानी हाले बराबर भएकोमा बताए ।
‘पाँच पटक प्रधानमन्त्री हुँदा तपाईंले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविस्मरणीय योगदान के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईंले गरेका चिरस्थायी कामहरु के–के हुन् ? सुदूरपश्चिमका जनता जान्न चाहन्छन् प्रधानमन्त्रीज्यू कुनै जवाफ छ ? खाली थारो भैंसी पालेझैँ ३१ वर्षदेखि सुदूरपश्चिमका जनताले तपाईंलाई निरन्तर भोट दिएर बालुवामा पानी हालेका हुन् ?’ उनले भने ।
सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए । उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे ।
उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गर्ने हो, आनाकानी गर्ने हो र कुनै मतलव नराख्ने हो भने देखादेखि तपाईले सुदूरपश्चिमप्रति गद्दारी गरेको र त्यहाँको जनताप्रति गम्भीर विश्वासघात गरेको ठहर हुनेछ ।’
सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा जन्म लिनु नै धिक्कार हुने टिप्पणी गरे । कलेज स्थापना गर्न नसके देउवा दश पटक प्रधानमन्त्री भए पनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ हुने उनको भनाई छ । उनले कलेज स्थापना गर्न नसके देउवालाई सुदूरपश्चिमका जनताले धोकेवाज र विश्वासघाती भन्ने बताए ।