डडेल्धुरा । जिल्लाको आलिताल गाउँपालिका ८ डोला मा रहेको श्री दुर्गा माध्यमिक विद्यालयमा १८ महिने बाली विज्ञान कृषि जे.टि.ए. कार्यक्रममा शैक्षिक सत्र २०७९/०८० सालको लागि भर्ना खुलेको छ । उक्त विद्यालयले बिगत १० वर्ष देखि प्रविधिक बिषयमा शिक्षा प्रदान गर्दै आएको छ । प्रविधिक धारमा जिल्लाको अव्बल श्रेणीमा पर्ने उक्त विद्यालय डडेलधुराको भित्रीमधेशको एक नमुना विद्यालय पनि हो ।
Event अन्तरगत रु.५००००,
२ जना CTEVT छात्रवृत्ति, १ जना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति, १ जना अपाङ्ग, १ जना दलित, १ जना जनजाति समुदायका विद्यार्थीहरुलाई विद्यालयले छात्रवृत्तिको व्यवस्था गरेको छ ।
भर्ना सम्बन्धी फाराम भर्ने अन्तिम मिति श्रावण २६ सम्म राखिएको छ ।
१८ महिने कृषि बाली विज्ञान जे.टि.ए. पुरा कोर्स उन्नाइस हजारमा पुरा हुने र उक्त रुपैयाँ चार किस्तामा तिर्ने गरि विद्यार्थीको पढाई हुने विद्यालयले जनाएको छ ।
भर्ना सम्बन्धी सूचना
यो पनि पढ्नुहोस्
प्राविधिक धारमा अब्बल बन्दै आलितालको दुर्गा मावि
डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा माध्यमिक विद्यालय अब्बल बन्दै गएको छ। सिकाइ उपलब्धि, व्यवस्थापन र शैक्षिक गुणस्तरका हिसाबले उक्त विद्यालय अब्बल बन्दै गएको हो।
पछिल्लो समय दुर्गा मावि विद्यार्थी, अभिभावक र आम सरोकारवालाको आकर्षणको केन्द्र बनिरहेको छ। प्राविधिक धारमा विद्यालय अब्बल बन्दै गइरहेको हो। वि.स २०२७ साल असोज २ गते स्थापना भएको विद्यालयमा हाल १ देखि १२ कक्षासम्म पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक नारायण जोशीले जानकारी दिए।
उनका अनुसार विद्यालय भारतीय राजदूतावासद्वारा निर्माण गरिएको १६ कोठे पक्की भवन एवं पीजेटिए छात्रावाससहित १ कोठेलगायत कृषि भवन पनि रहेको छ। विद्यालय आलितालको स्थानीय गोदाम बजारबाट २० मिनेटको दूरीमा रहेको छ।
यो विद्यालय जिल्ला सदरमुकाम डडेल्धुरादेखि दक्षिणतर्फ लगभग ७० किलोमिटर टाढा पर्छ। भीमदत्त राजमार्गको बुडरचौराहा डोटीदेखि विद्यालयमा पुग्न १६ किमीको सडक बाटो भएर पुग्न सकिन्छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले विस २०६८ सालबाट दुर्गा माविमा टीइसीएस कार्यक्रम संचालनमा रहेको छ। यस सँगसँगै प्राविधिक शिक्षा, कृषि तर्फ बाली विज्ञानमा फड्को मारेको विद्यालयका कार्यक्रम संयोजक यमबहादुर कामीले जानकारी दिए।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै शैक्षिक बेरोजगारको अन्त्य प्राविधिक शिक्षाद्वारा सम्भव रहेको छ’ भन्ने मूल मर्मका साथ एसएलसी÷एसइई उर्तिण भएपछि प्राविधिक शिक्षा अध्ययनका लागि विगतमा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो। विद्यार्थी तथा अभिभावकको उक्त बाध्यतालाई मध्यनजर गर्दै दुर्गा माविमा सीटीइभीटीले टीइसीएस कार्यक्रम सञ्चालनमा ल्याएको हो।
कार्यक्रम संयोजक कामीका अनुसार विद्यालयले हाल ४० जना विद्यार्थी भर्ना गर्दै प्रि–डिप्लोमा कृषि (बाली विज्ञान) पीजेटिए कक्षा सञ्चालन गरिरहेको छ।
‘हाम्रो यहाँ अध्यन गर्न डडेल्धुरा, बझाङ, बाजुरा, बैतडी, अछाम, डोटी, कैलाली, कञ्चनपुर, मुगु, रोल्पा, रुकुम, जुम्लालगायत अन्य जिल्लाबाट विद्यार्थीहरू आउँछन्,’ उनले भने, ‘दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले १८ महिने प्रि–डिप्लोमा तह अन्तर्गत एउटा कार्यक्रम सञ्चालन भइरहेको छ।’
हालसम्म विद्यालयले यस कार्यक्रमबाट ४ सय जना विद्यार्थी उत्पादन गरिसकेको कार्यक्रम संयोजक कामीले बताए। ‘हाम्रा यहाँ पढेका विद्यार्थीहरूमध्ये धेरै स्वरोजगार भएर आफ्नै व्यावसाय संचालन गरिरहेका छन्,’ उनले भने, ‘केही विद्यार्थीहरू विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा पनि संग्लन छन्।’
गरिब, विपन्न, द्वन्द्व पीडित, असहाय, एकल, अपाङ्ग, पिछडिएका वर्गका विद्यार्थीहरूका लागि विशेष कार्यक्रम राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्र्तगत ‘पढ्दै कमाउँदै’ कार्यक्रम पनि विद्यालयमा सञ्चालन भइरहेको संयोजक कामीले जानकारी दिए।
उनका अनुसार विद्यालयले प्रि–डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) ट्रेडमा ४ जनलाई छात्रवृत्ति दिँदै आएको छ। प्रवेश परीक्षामा सबैभन्दा बढी अंक प्राप्त गर्ने एक प्रशिक्षार्थीलाई जेहेन्दार छात्रवृति प्रदान गरिँदै आएको उनले बताए।
विद्यार्थीको आन्तरिक मूल्याङ्कन, आन्तरिक परीक्षालगायत अतिरिक्त क्रियाकलापलाई विद्यालयले निरन्तरता दिँदै आएको छ। अभिभावकले विद्यालयको उक्त अभियानमा साथ दिएका छन्।
शिक्षकहरूले बेलाबेलामा विभिन्न गाउँमा पुगेर अभिभावकसँग छलफल गर्ने, विद्यार्थीले ल्याएको नतिजाबारे जानकारी गराउनेलगायत काम पनि गर्दै आएका छन् ।