दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीमबहादुर साउँदलाई कारबाही गर्ने चेतावनी दिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ मा पर्ने श्रीबगर तपोवनस्थित महाकाली नदी किनारमा निर्माणाधिन पक्की तटबन्धको काम समयमै सम्पन्न नगरेको भन्दै ठेकेदार साउँदलाई कारबाही गर्ने चेतावनी दिइएको हो।

खोलाले सो क्षेत्रको बस्ती निरन्तर कटान गरेर स्थानीयको उठिबास भइरहेका बेलो निर्माण कम्पनीका सञ्चालक भिम साउँद मुखदर्शक बनेको भन्दै विप्लव नेतृत्वको पार्टीले कारबाही गर्ने चेतावनी विज्ञप्तिमा उल्लेख छ।
कारवाहीको पहिलो चरण अन्तरगत आयोजनाको कार्यालय गल्फैस्थित मुल ढोकामा ताला लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए। पार्टीले अनिश्चितकालीन तालाबन्दी गरेको भए पनि तालाबन्दी गरेको २०/२५ मिनेटपछि प्रहरीले ताला तोडेपछि कार्यालय पुनः सञ्चालनमा आएको आयोजनाले जनाएको छ।











