डडेल्धुरा: सरकारको बागडोर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्हालेसंगै देशको राजनीतिक समिकरण बदलिएको छ । नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री भएका प्रचण्डले यतिबेला शुदुर पश्चिमबाट कसलाई मन्त्री बनाउछन् भन्ने बिषय निकै चासोको साथ हेरिएको छ ।
माओवादी संघर्षकै कारण स्थापित समावेशी समानुपाति प्रतिनिधित्वको मुद्दालाई प्रचण्डले मन्त्रिपरिषद् बिस्तारमा समेत कार्यान्वयन गर्नका लागि जाती, क्षेत्र, लिंग र भूगोललाई समेटने चुनौती देखिएको हो।
यसका लागि उनले सामाजिक, आर्थिक, सांस्कृतिकरुपमा पिछडिएका मधेस र सुदूरपश्चिमको प्रतिनिधित्व गराउनुपर्ने, महिला, दलित, आदिवासी अल्पसंख्यकलाई सहभागी गराउनैपर्ने अवस्था छ ।
भूगोलको हकमा नेकपा एमालेले सुदूरपश्चिमबाट दामोदर भण्डारीलाई मन्त्रीमा पठाइसकेको छ। तर माओवादीका हकमा भने सुदूरपश्चिमबाट को मन्त्री बन्ने भन्ने कुरा अहिलेसम्म टुंगोमा पुगेको छैन।
बिडम्बनाको कुरा, संघीय निर्वाचनमा माओवादीले सुदूरपश्चिममा एक सिट पनि जित्न सकेको छैन। यसले गर्दा माओवादीका अगाडि भुगोलको प्रतिनिधित्व गर्ने हो भने राष्ट्रिय सभामा रहेका तीनजना सांसदमध्ये एकजनालाई मन्त्रिपरिषदमा सहभागी गराउनुपर्ने हुन्छ।
माओवादीका तर्फबाट अहिले तारामान स्वाँर, जगत पार्की र हरिराम चौधरी राष्ट्रिय सभा सदस्य रहेका छन्।
पछिल्ला दिनमा तीनजना मध्ये जगत पार्की र हरिराम चौधरीले मन्त्री बन्ने आकांक्षा राखेको माओवादी वृत्तमा चर्चा छ।
जगत पार्की दलित समुदायबाट हुन भने चौधरी थारु समुदायबाट हुन।
थारु समुदायकै मुख्य मुद्दा उठाएर सरकारमा सहभागी हुन पुगेका नागरिक उन्मुक्तिका तर्फबाट थारु मन्त्री बन्ने सम्भावना बलियो भएको र नागरिक उन्मुक्ति र माओवादीबीच पार्टी एकताका लागि समेत पहल भइरहेको सन्दर्भममा पार्कीलाई मन्त्री बनाइएमा सुदूरपश्चिम र दलित समुदायको प्रतिनिधित्व हुने अवस्था रहने हुन्छ।
अर्कोतर्फ सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीबाहेकका ८ वटा जिल्ला इन्चार्ज र जिल्ला समन्वय समिति संयोजकहरुले समेत पार्कीलाई नै मन्त्री बनाउन आफ्नो तर्फबाट पहल गरेको देखिन्छ। हरिराम चौधरी भने अहिले प्रदेश अध्यक्ष समेत हुन। तर थारु समुदायबाट नागरिक उन्मुक्ति पार्टीले मन्त्री पाउने अवस्था हुने, माओवादीका तर्फबाट पार्कीबाहेक दलित समुदायबाट अरु मन्त्री बन्ने अवस्था नरहेकोले उनलाई मन्त्री बनाउनुपर्ने माग बलियो भएको हो।
यसअघि माअोवादीले बाँकेबाट निर्वाचित महेश गहतराज अथकलाई देउवा सरकारमा दलित प्रतिनिधित्व गर्दैै मन्त्री बनाएको थियो। तर अहिले उनी पराजित भए। प्रत्यक्षतर्फ माओवादीबाट एकजना पनि दलित उम्मेदवार जितेका छैनन्। यो परिस्थितिमा एकातिर भूगोल र अर्कोतर्फ दलित समुदायबाट समेत प्रतिनिधित्वि हुने भएकोले पार्कीलाई मन्त्री बनाउनुपर्ने इन्चार्जहरु बताउँछन्। यसकारण उनि मन्त्रीको कुर्सी नजिक रहेका हुन।
सांसद पार्की डडेल्धुराको भित्री मधेशको आलिताल निवासी हुन्। गत स्थानीय निर्वाचनमा उनको गृह पालिकामा माओवादीले विजय हासिल गरेको थियो।
पछिल्लो संघीय र प्रदेश निर्वाचनमा समेत सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट प्रदेश सभामा विजयी हुन भित्री मधेस क्षेत्रकै निर्णायक भूमिका रहेको थियो। संगठनात्मकरुपमा बलियो पकड भएका पार्की पार्टीको केन्द्रीय सदस्य र प्रस्तावित पोलिटब्यूरो सदस्य समेत हुन्।