डडेल्धुरा : डडेल्धुराको प्रदेशसभा (१) बाट निर्वाचित खगराज भट्ट नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा चयन भएका छन् । आज बसेको बैठकले प्रदेश इञ्चार्जसमेत रहेका भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवले जानकारी दिए ।
“प्रदेश कमिटीको सिफारिस र प्रदेशसभा सदस्यहरुको बैठकले भट्टलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेका छौं,” प्रदेश अध्यक्ष चौधरीले भने । शनिबार पनि नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता छनोट गर्न बैठक गरेको थियो । तर, नेता चयनका लागि संसदीय दलको कार्यालयमा बैठक बसे पनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको थियो ।
संसदीय दलको नेतामा भट्टसंगै प्रदेशसभा सदस्य ओमविक्रम भाट (सरल)ले पनि दाबी गर्दै आएका थिए । माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष चौधरीका अनुसार भाटकै सहमतिमा भट्टलाई संसदीय दलको नेता चयन गरिएको हो ।
भट्ट नेता चयन भएसंगै मुख्यमन्त्रीका लागि बाटो खुलेको छ । उनलाई यसअघिको कांग्रेस नेतृत्वको गठबन्धनले पनि मुख्यमन्त्रीका रुपमा अगाडि सारेको थियो । तर, अहिले केन्द्रमा एमाले नेतृत्वको गठबन्धन रहेको छ ।
भागबन्डा गर्दा सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बलियो छ । अहिले पनि सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वकै सरकार छ । प्रदेशमा ५ वर्षको अवधिमा मन्त्री पटकपटक फेरिए पनि माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्ट भने अहिलेसम्म पनि सरकारको नेतृत्व गरिरहेका छन् ।