बुटवल: नवलपरासीको गण्डक नहरमा दुई छोरासहित एक महिलाले हाम फालेकी छिन् ।
मंगलबार दिउँसो नवलपरासी सुस्ता गाउँपालिका-२ की प्रतिमा थारुले आफ्ना दुई छोरासहित गण्डक नहरमा हाम फालेकी हुन् । थारुले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितसहित नहरमा हाम फालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए ।
उनका अनुसार तीनै जनाको नहरमा बेपत्ता भएका छन् । थारुले दुवै छोरालाई दुईतिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । प्रतिमाका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
के कति कारणले नहरमा हाम फालिन् भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीन जनाकै खोजी भइरहेको डीएसपी पाण्डेले बताए ।