धनगढी: यसवर्षको महामूर्खको उपाधि जनकपुरधामका मेयर मनोज साहलाई दिइएको छ।
होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप) ले साहलाई उक्त उपाधि प्रदान गरेको हो।
प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सव अन्तर्गत मङ्गलबार महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहलाई यस वर्षको महामूर्खको उपाधि प्रदान गरिएको मिनापले जनाएको छ।
महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ।
मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सम्मान गर्ने चलन छ। महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ।
यस सम्मेलनको प्रारम्भ वीरगञ्जबाट भएको हो। मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो। पहिलोपटकको महामूर्ख लाला माधवेन्द्रजी भएका थिए।
अहिलेसम्म को–को भए महामूर्ख?
वि.सं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो। विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ सालमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा र २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाललाई प्रदान गरिएको थियो।
यस्तै, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० सालमा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ सालमा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयाले पनि सो उपाधि प्राप्त गरिसकेका छन्।
वि.सं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो।
विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र २०७५ सालमा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो। त्यस्तै, २०७६ सालमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झालाई पनि महामूर्खको उपाधि प्रदान गरिएको थियो। (राससको सहयोगमा)