सिरहा: धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा बहुमतले स्थानिय तहका प्रमुखलाई निशाना बनाईरहेको छ। स्थानिय सरकारका प्रमुख सिरहाको गोलबजार नगरपालिका मेयर श्यामकुमार श्रेष्ठमाथि मंगलबार कालोमसो दलेको छ।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले प्रमुख श्रेष्ठमाथि कालोमसो दलेका हुन्।
कालोमसो दल्नेहरुले नेपाल कम्यूनिष्ट पार्टी ‘बहुमत’ को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेका थिए।
उनीहरुले छरेको पर्चामा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठलाई लघुवित्तमार्फत् गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, बजारको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको कारण जनकारबाही गरेको उल्लेख गरिएको छ।
पर्चामा फर्जी कागज बनाई गोलबजार-१ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र आफ्ना नेता कार्यकताविरुद्ध सुराकी गरेकोले जनकारबाही गरेको पर्चामा उल्लेख गरिएको छ। घटनाको विषयमा बुझ्न आएका कार्यकर्ताले केहीबेर पूर्वपश्चिम लोकमार्गमा प्रहरीविरुद्ध नाराबाजी गर्दै चक्काजाम गरेको थियो ।
कालोमसो दलेको आरोपमा एकजना पक्राउ समेत परेका छन्। पक्राऊ पर्नेमा सिरहाकै नरहा गाउँपालिकाका साधुशरण महरा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका महरालाई जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक टुपेन्द्र बुढाथोकीले जनाएको छ ।