डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्वर ३ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ।
वडाध्यक्ष बल बहादुर बुढामगरको सभापतित्वमा सम्पन्न भएको पूर्ण खोप वडा घोषणा कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल रहेकी थिइन्।कार्यक्रममा विशिष्ट अतिथि आलिताल गाउंपालिका स्वास्थ्य शाखा प्रमुख धन बहादुर क्षेत्रीको उपस्थितिमा वडालाई पूर्ण खोप घोषणा गरिएको हो ।
वडामा रहेका दुई वर्ष मुनिका ३५ जना बालबलिकाले सबै प्रकारका खोप लाएको सुनिश्चितता गरी वडालाई पूर्ण खोप घोषणा गरिएको वडा अध्यक्ष बुढाले जानकारी दिए।

प्रत्येक वर्ष आलितालको सम्पूर्ण वडालाई पूर्ण खोप वडा घोषणा गरिदै आएको र यस बर्ष पनि वडा नं १ मंगलबार र ३ हिजो बुधबार पूर्ण खोप घोषणा गर्दै सुरुवात गरिएको स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले बताए ।

३ नं वडा कार्यालय चौडमा रहेको वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका ,स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी,सुरक्षकर्मी,बिभिन्न आमा समुहका पदाधिकारी र स्थानीयहरूको उपस्थिति रहेको थियो।











