डडेल्धुरा। डडेलधुराको परशुराम नगरपालिकाले प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन दुना-टपरी उत्पादनको कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले वडा नम्बर १, ६, ७, र ११ मा दुना-टपरी उत्पादन गर्ने उद्देश्यका साथ महिलाहरुलाई तालिम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गरेको हो ।
यसका लागि चारै वडामा एक एक मेसिन समेत हस्तान्तरण गरिएको मेयर भरत बडायर जोशीले बताए । उनले भने, ‘एउटा वडाबाट १०, १५ जनालाई तालिक दिएका छौं । अब ती चार वडाका सबै महिलालाई यो सीप सिकाउने योजना छ । विस्तारै हामी नगरपालिकाका १२ वटै वडामा यो कार्यक्रम पुर्याउछौं ।’
उत्पादित दुना-टपरीको बजारीकरणका लागि पनि नगरपालिकाले सहजीकरण गर्ने मेयर जोशीले बताए । ‘आगामी आर्थिक वर्षदेखि हाम्रो नगरपालिका र वडा कार्यालयमा हुने कार्यक्रममा, विद्यालयमा दुना टपरी प्रयोगमा ल्याउने नीति बनाएका छौं,’ उनले भने ।
आगामी आर्थिक वर्षदेखि परशुराम नगरपालिकामा प्लास्टिकका झोला, डिस्पोजल प्लेट लगायतका प्लास्टिकजन्य वस्तुहरूमा प्रतिबन्ध लगाउने मेयर जोशीको भनाइ छ । उनका अनुसार नगरपालिकाले स्थानीयस्तरमै वातावरण मैत्री वस्तुहरूको उत्पादन र उपभोग गर्ने नीति लिएको छ ।
‘स्थानीय स्रोत, साधन र उत्पादनको प्रयोग गर्ने संस्कृतिको विकास भई यसमा संलग्नहरुको आर्थिक अवस्थामा सुधार आउनेमा अपेक्षा गरेको छु,’ उनले भने । यस कार्यक्रममार्फत महिलाहरुलाई आय-आर्जनसँग जोड्न खोजेको जोशीको भनाइ छ ।