डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–२ डिभिजन वन कार्यालयले एउटा टहरो निर्माण गरि रहेको छ । २० लाख रुपियाँ लागतमा टहरो संगै शौचालय लगायतका भौतिक पूर्वाधाका संरचना निर्माण भईरहेका छन । तर सामाजिक सञ्जाल फेसबुकमा भने २० लाख रुपियाँको टहरो भनी दुषप्रचार गरिएको डिभिजन कार्यालयले जनाएको छ । निर्माणाधिन टहरो २० लाख रुपियाँ लागतमै बनि रहेको छ । डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहले निर्माणाधीन योजनाको इस्टिमेट नै देखाई उक्त योजना संघीय सरकारको शसर्त अनुदान अन्तर्गत रहेको बताएका छन । साथै अमरगढी हरित पार्कमा उक्त संरचना बन्नुपर्नेमा त्यहाँ ठाउँ नभएकाले पार्ककै छेउमा रहेको गोरक्षनाथ बाबाको मन्दिरनजिकै उक्त टहरो बनाइन लागेको उनले बताए ।
संरचना निर्माणाधीन अवस्थामै रहेकाले अहिलेसम्म ६० प्रतिशत काम भएको वन अधिकृत सिंहले बताए। उनका अनुसार हालसम्म उक्त संरचना बन्ने स्थानसम्म सडक काटिएको, डोजर लगाएर ठाउँ सम्याइएको, ५ मिटर चौडाई तथा १६ मिटर लामो टहरो बनाइएको छ। अब शौचालय तथा शौचालयको खाल्डो निर्माण, रङ्गरोगन, वृक्षारोपण र पानी ट्याङ्की राख्ने लगायतको ४० प्रतिशत कार्य बाँकी छ।
‘सामाजिक संजालमा आए जस्तो जम्मै २० लाख भुक्तानी भएको छैन। इस्टिमेट अनुसार संरचना निर्माणाधीन अवस्थामा छ’ वन अधिकृत सिंहले भने, ‘असार मसान्तसम्म काम सम्पन्न नभएकाले मेरै नाममा पेश्की छ। काम सम्पन्न भएपछि बिल उठाएर भुक्तानी हुन्छ।’ जिल्ला वन कार्यालयका प्रमुख रामबिचारी ठाकुरले निर्माणाधीन अवस्थामा रहेको संरचनाबारे अनर्गल प्रचार गरिएको बताए। स्थानीयको माग अनुसार योगा प्रशिक्षण स्थान बन्न लागेको उक्त स्थानमा कुनै बेइमानी नभएको उनको दाबी छ।
हिजो मंगलबार साँझ पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा डडेल्धुरामा निर्माण भएको टहराको फोटो पोष्ट गरेका थिए। डिभिजन वन कार्यालय डडेल्धुराले २० लाखको लागतमा उक्त टहरा बनाएको भन्दै उनले तस्बिरमा लेखेका थिए। उपाध्यायका फ्लोअर्सले उक्त टहराबारे विभिन्न टिकाटिप्पणी गर्दै कमेन्ट गरिरहेका छन्। यसरी निर्माणाधीन संरचनालाई भिम उपाध्यायले ‘मिसलिड’ गर्ने ध्येयले प्रचार गरेको निष्कर्श निकालिएको छ। महेन्द्रनगर पोस्टबाट











