
डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। सोमबार गाउँपालिकाले पालिका प्राङ्गणमा आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा उनीहरूलाई सम्मान गरेको हो।
उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता समिति र विषयगत शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी वडा सचिव, सबैभन्दा बढी राजश्व संकलन गर्ने वडालाई सम्मानित गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले जानकारी दिए।
उनका अनुसार आधारभूत तहमा उत्कृष्ट सिकाइ उपलब्धी ल्याउने विद्यालयका शिक्षक आधारभूत तह र एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रदेश तथा राष्ट्रिय स्तरमा सहभागी खेलाडी र शहीद परिवारलाई सम्मान गरिएको हो।
जिल्लामै उत्कृष्ट सिकाइ उपलब्धी ल्याउने देवल माविलाई समेत सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सेटीले बताए। सबैभन्दा बढी राजश्व संकलन गर्ने वडाका रूपमा वडा नम्बर २ सम्मानित भएको छ। उत्कृष्ट वडा कार्यालय पनि वडा नम्बर २ नै भएको छ।उनीहरू अझैं आफ्नो कामप्रति लगनशील र जिम्मेवार हुन भनेर सम्मान गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले बताए।