डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ मा अवस्थित आलिताललाई सरसफाई गरिने भएको छ। आलिताल गाउँपालिका र रणबम गण डडेल्धुराको संयुक्त आयोजनामा त्रिदिवसीय ताल सरसफाई कार्यक्रम राखिएको हो।
‘हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा दिगो व्यवस्थापनको मुख्य उद्देश्यले तीनदिने ताल सरसफाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मैनाकुमारी रावल बोहराले जानकारी दिइन्। उनका अनुसार ताल सरसफाई अभियान यहीँ पुस ७ गतेदेखि ९ गतेसम्म बिहान ११ बजेबाट सञ्चालन हुनेछ।
उनले ताल सरसफाई कार्यक्रममा सहभागी भई डडेल्धुराको पर्यटकीय गन्तव्यको संरक्षण तथा प्रवर्द्धनमा हातेमालो र आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सबैमा आग्रह गरेकी छन्। यसका साथै कार्यवाहक अध्यक्ष रावलले गाउँपालिकामा रहेका संघसंस्था, विद्यालय, राजनीतिक दल, वन उपभोक्ता समिति, समाजसेवी, पत्रकार, कर्मचारी, विद्यार्थी, आमा समूह सबैमा सहभागिताका लागि अनुरोध गरिन्।
आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो। समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिन्छ। एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ। युनिटीखबरबाट
सरसफाई कार्यक्रममा सहभागिताका लागि गाउँपालिकाले जारी गरेको सूचना–