डडेल्धुरा : क्याम्पस स्थापनार्थका लागि सुदूरपश्चिम विश्वविद्यालयको टोली दोस्रो पटक डडेल्धुराको आलितालमा पुगेको छ। विश्व विद्यालय अन्तर्गत व्यवस्थापन संकायको अध्ययन भ्रमण टोली क्याम्पस स्थापनाका लागि छलफल तथा अन्तरक्रिया गर्न आईतबार आलिताल पुगेको हो। यस अघि विश्वविद्यालयको शिक्षा संकायको टोलीले पनि क्याम्पसको अनुगमन गरिसकेको छ।
सुदूरपश्चिम विश्वविद्यालयका प्रध्यापक डाक्टर पदमराज जोशीको संयोजकत्वमा तिन सदस्यीय टोली आलिताल पुगेको वडा अध्यक्ष धन बहादुर देउवाले बताए। टोलीले क्याम्पस स्थापना गर्न लागिएको आलिताल-८ डोलामा रहेको दुर्गा माध्यमिक विद्यालयको भौतिक, प्राविधिक, शिक्षकहरुको व्यवस्थापन र क्याम्पस कोषको विषयमा बुझेको थियो।
प्रध्यापक डाक्टर पदमराज जोशीले भ्रमण पश्चात आलितालमा क्याम्पस स्थापनाको अधिकतम् सम्भाव्यता रहेको बताए । उनले सामुदायिक स्तरबाट क्याम्पस स्थापनाका लागि भइरहेको पहलप्रति खुसि समेत व्यक्त गरे। क्याम्पस सञ्चालन सम्बन्धी सम्वन्धन दिँदा विश्वविद्यालयले पनि यस्ता सामुदायीक स्तरबाट संचालनमा ल्याइने क्याम्पसहरुलाई बिषेश प्रथमिकता दिने गरेको जोशीले सुनाए । क्याम्पस स्थापनाको लागी स्थानीय सरकार समुदायसंगै लागेको छ। जसले गर्दा क्याम्पस सञ्चालनमा सहज हुनेमा उनको विश्वास रहेको छ ।
विश्वविद्यालय र क्याम्पस सञ्चालन समितिसंगै छलफलमा सहभागी आलिताल गाँउपालिकाका अध्यक्ष शेर सिंह पार्कीले भने ‘ कुनै पनि समाजलाई विकास र सहीबाटोमा लैजान शिक्षाको आवश्यकता महत्वपूर्ण र पहिलो रहेकोले आलितालमा क्याम्पस स्थापना गर्न लागिएको बताए । उनले भने ‘यहाँबाट बर्षेनी आर्थीक अभावका कारण सयौं विद्यार्थीले टाढा जान नसकेर उच्च शिक्षाबाट बञ्चित रहेको बताए। पछिल्लो समय १२ पास गरेर आर्थिक अवस्था नाजुक भएका परिवारका विद्यार्थीहरु भारत तिर जाने गरेको उनको भनाई छ। यहाँ क्याम्पस स्थापना भए विद्यार्थीलाई निःशुल्क रुपमा कम्प्युटरका कक्षा संचालनमा ल्याइने उनको भनाई छ। क्याम्पस स्थापना गर्न स्थानीय सरकार एकाग्र रहेको समेत पार्कीले बताए। छलफलमा क्याम्पस सञ्चालन समिति, स्थानिय सरोकारवाला व्यक्तिसंगै सञ्चारकर्मी पनि रहेका थिए।