डडेल्धुरा: डडेल्धुराको भित्रीमधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–४ कटालमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। भागेश्वर माध्यामिक विद्यालय कटालको आयोजनामा पुरुष र महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो।
विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए। उनका अनुसार पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख एक्काउन्न हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ।
उपविजेताले १ लाख १ हजार १ सय ११ र तेस्रो हुने टिमले ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क ५ हजार राखिएको छ।
महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११ रुयैयाँ, द्धितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क ३ हजार तोकिएको छ।
‘प्रतियोगिता नेपाली नागरिकले मात्रै खेल्न पाउनेछ, हामीले उत्कृष्ट विधागत पुरस्कारको रूपमा ट्रफी र प्रमाणपत्र दिनेछौँ,’ अध्यक्ष मालले भने, ‘सबै खेलप्रेम खेलाडीलाईहरू प्रतियोगितामा सहभागिता जनाइदिन हुन पनि अनुरोध गर्दछु।’ प्रतियोगिता १२ माघदेखि १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। माघ २ गते देखि ११ गते ४ बजे भित्र टिम दर्ता गराइसक्नुपर्नेछ।