डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ७ को साँदनी स्वास्थ्य चौकीले गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य चेकजाँच गर्दा ल्याब परिक्षणमा लाग्ने शुल्क नलिने भएको छ ।
हिजो मंगलबार स्वास्थ्य व्यवस्थापन समितिले सो निर्णय गर्दै साँदनी स्वास्थ्य चौकीमा सेवा लिन आउने गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य सम्बन्धि चेकचाँचहरुमा शुल्क नलिने निर्णय गरेको स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश घिमिरेले बताए छन् । सिबिसी चेकजाँच, ब्लड ग्रुप, ब्लड सुगर, पिसाव जाँच, हेपाटाइटिस ‘बि’, भिरिङ्गी जाँच लगाएतका ल्याब परिक्षणमा सेवाग्राहीको पाँच सय देखि एक हजार बढी खर्च हुने गरेको उनले बताए । केही स्वास्थ्य ल्याब परिक्षण वाहेक अन्य परिक्षणमा सबै सरकारी स्वास्थ्य संस्थाहरुले शुल्क लिने गरेका छन् ।
बिपन्न परिवारका महिलाहरुले आर्थिक अभावका कारण गर्भवती भएको समयमा सामान्य चेकजाँच समेत गर्न नसक्ने अवस्था रहेको बुझिन आएकोले उक्त निर्णय गरिएको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ७ का अध्यक्ष कर्णबहादुर धामीले बताए । उक्त स्वास्थ्य संस्थामा बर्षेनी ६० देखी ७० जना महिलाहरु गर्भवती तथा सुत्केरी सम्बन्धी सेवा लिन आउने गरेको धामीले बताए । यहाँका बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै आँउदो बर्ष सम्म एम्बुलेन्स सेवा पनि बिस्तार गर्ने धामीको भनाई छ।