डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सुरु भएको छ । परशुराम नगरपालिका न्यायिक समितिको आयोजनामा आधारभूत तालिम सुरु भएको हो । न्यायिक समितिका संयोजक बिमला कुमारी महताको सभापतित्वमा कार्यक्रम सुरु भएको छ ।
उनले उद्घाटन कार्यक्रममा बोल्दै, स्थानीय स्तरमा हुने सानातिना झैँ–झगडा र विवादहरूको समुदायमा भएका मेलमिलापकर्ताहरुको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् । तालिमले मेलमिलाप कर्ताहरूको सहजीकरणमा क्षमता अभिवृद्धि हुने बताइन् । तालिममा परशुराम नगरपालिकाका १ देखी १२ वडाका ३६ जनासँगै ३ जना न्यायिक समितिका सदस्यहरुको सहभागिता रहेको छ ।
तालिममा सर्वोच्च अदालतको मेलमिलाप परिषद्ले तयार पारेको पाठ्यक्रमका आधारमा विभिन्न विषय अन्तर्गत विवाद र यसको स्वरूप,विवादका श्रोत तथा कारण,विवाद बढ्ने चरण,समाधानका वैकल्पिक उपायहरू,मेलमिलापकर्ताहरुको गुण तथा भूमिका,सहजीकरण सिप,सोधपुछ वा प्रश्न गर्ने सीप लगायतका विषयहरू सिकाइने बताईएको छ । असार २ गते सम्म सञ्चालित हुने उक्त तालिममा प्रशिक्षक अधिवक्ता दिपक राज भट्ट र लोकराज थापा रहने छन् । कार्यक्रमको संचालन कानुन अधिकृत गोविन्द जोशीले गरेका थिए ।