मनोज रावत, डोटी । डोटीको छहरा झरनामा पर्यटकहरु बढ्न थालेका छन् । जोरायल गाउँपालिका-२ छतिवनमा रहेको उक्त झरना हेर्न दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी लगायतका क्षेत्रबाट सयौंको संख्यामा स्थानीयहरु उक्त झरना हेर्न आउने गरेको वडा नम्बर २ का अध्यक्ष बिर बहादुर दर्लामीले बताउनु भयो । कैलाली, कंचनपुर लगायत बाके र बर्दिया, सुदुरका पहाडी जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत झरना अवलोकन गर्न पर्यटकहरु आउने गरेको उहाँको भनाई छ ।
पर्यटकको संख्या बढ्न थाले पछि वडाकार्यालयले विभिन्न संघ-संस्थाहरुसंग समन्वय गरेर झरना स्थल सरसफाई र व्यवस्थित गर्न थालेको छ । आज सनिबार सोही क्रममा झरना स्थलको सरफाई गरिएको हो । वडा नम्बर २ को कार्यालयले आयोजना गरेको झरना परिसर सरसफाई कार्यक्रममा सिडिएफ, ईलाका प्रहरी कार्यालय बुडर, वडा नम्बर २ स्तरिय बाल क्लव लगायत स्थानियहरुले सहभागिता जनाएका थिए ।
उक्त झरनामा दैनिक १ सय देखि २ सय जना सम्म पर्यटक आउने गरेका छन् । झरना अवलोकन अहिले सम्म निशुल्क भएतापनी व्यवस्थित गरेर केहि दिन पछि प्रबेश शुल्क लगाउने वडा अध्यक्ष दर्लामीले जानकारी दिएका छन् । उनले आन्तरिक पर्यटकलाई रु. ३० र बाह्य पर्यटकलाई रु. ५० का दरले शुल्क लगाईने बताएका छन् ।
वडा नम्बर २ का अध्यक्ष बिर बहादुर दर्लामीले पिकनिक स्पोट, पार्किङ स्थल, शौचालय, क्यान्टीनलगायत कामहरुको निर्माण टेन्डर प्रक्रियाबाट भईरहेको जनाए का छन् ।
झरना हेर्न आउने पर्यटकलाई मगर, तामाङ, थारु सामुदायका लगायतका परम्परागत पोशाक सहित फोटो सुट गर्ने व्यवस्था समेत गरिएको छ ।
धनगढी देखि भिमदत्त राजमार्ग हुँदै बुडरसम्म र त्यहाँबाट बुडर-जोरायल सडक हुँदै झरना पुग्न ९६ किलोमीटर यात्रा गर्नु पर्ने हुन्छ । झरना स्थल सम्मै पक्की सडक रहेको छ ।
तस्बिर; पत्रकार, मनोज रावत/ जनमुक्ती डटकम