काठमाडौँ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमवार राति देशको पश्चिमी भूभागमा पानी पर्नसक्ने जनाएको छ।
महाशाखाकी मौसमविद् बिनु महर्जनले सोमवार रातिदेखि सुदूरपश्चिम प्रदेशतिर बादल लाग्ने तथा पानी पर्ने पूर्वानुमान रहेको बताइन्।
मौसमविद् महर्जनका अनुसार आज सोमबार रातिदेखि सुदूरपश्चिमतिर बादल लाग्ने तथा पहाडी भूभागमा पानी पर्नसक्ने सम्भावना रहेको छ।
उनले पश्चिमी वायुको न्यूनचापीय प्रणाली नेपालतर्फ आउने भएकाले हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको बताइन्।
उनका अनुसार हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपात हुनसक्ने सम्भावना छ। नेपालतर्फ आउन लागेको पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभावले हिमपात र पानी पर्नसक्ने सम्भावना रहेको उनले बताइन्।
उनका अनुसार उक्त प्रणालीको धेरै प्रभाव पश्चिमी भूभागमा पर्ने र मध्य एवम् पूर्वी भूभागमा पनि बादल लाग्ने सम्भावना छ। पश्चिमी वायुको न्यूनचापीय प्रणाली पर्सि (मंगलवार) रातिसम्म रहनसक्ने महाशाखाले जनाएको छ।