डडेल्धुरा: डडेल्धुराको परशुराममा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् ।
परशुराम नगरपालिका वडा नम्बर ६ सिमलखेतमा आज विहान ४ ओटा सेतो गिद्ध विचरण गरेको देखिएका हुन् ।
यस ठाउँमा पहिले ठुला – ठुला सिमलका रुख थिए । यहाँ थुप्रै पटक पहिले पनि गिद्ध बस्ने गर्ने गरेको सुनिन आएको छ । वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरीले भने । सिमललाई गिद्धहरुको मुख्य बासस्थानको रुपमा लिने गरिन्छ ।
पछिल्लो समय महाकाली नदि र रंगुन नदिले सिमल खेत क्षेत्रमा ठुलो कटान गरे पछि सिमलका रुखहरु बगाएर लगेको र त्यस यता गिद्ध पनि देखिन छोडेको स्थानियहरुको भनाई छ ।
यस पटक भने आज पहिलो चोटी एकै साथ ४ गिद्ध देखा परेको वडा अध्यक्ष सिंहले बताउनु भयो ।
विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् । एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गुँड बनाई मानववस्ती वरपर बस्न रुचाउँछन् । मानिस भन्दा आठगुणा टाढासम्म देख्ने गिद्ध सिनोको खोजीमा तीनसय किमी टाढासम्म उड्छन् ।
पर्यावरणीय चक्र र सनातन खाद्य श्रृङखला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो । गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्दछ । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ ।