डडेल्धुरा: इँटा भट्टामा मान्छेलाई जिउँदै जलाएर हत्या गरेको कसूरमा जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाई दिने उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई कालोमोसो दल्ने नेकपा बहुमतका युवाहरु रिहा भएका छन् ।
जेठ २९ गते न्यायाधीशद्वयमाथि कालोमोसो प्रहार गर्ने नेकपा बहुमतका कार्यकर्ताहरू गर्भु महतो, पदम बहादुर मगर र अविनश भन्ने किशोर कुवँरलाई अदालत परिसरबाटै नियन्त्रणमा लिइएको थियो ।
उनीहरू जिल्ला प्रहरी कार्यालय पर्साको २६ दिनको हिरासतमा बसाई र ३ दिन कारागार बसाई पछि आज शुक्रबार रिहा भएका हुन् । असार २५ गते बुधबार जिल्ला अदालत पर्साले तिनै जनालाई जनही २ लाख धरौटीमा रिहाई गरेपनि अभद्र व्यवहारमा उच्च अदालत विरगंजमा पनि मुद्दा दायर गरिएको थियो । उच्च अदालत बिरगंजले आज शुक्रबार तिनै जनालाई जनही ७५ हजार धरौटीमा रिहाई गरेको हो ।
इँटा भट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको कसुरमा ६ वर्षदेखि जेलमा रहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले यही जेठ १४ गते सफाइ दिएको थियो। रौतहट जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते आलमलाई सफाइ दिएको हो। त्यही दिन उनी नक्खु कारागारबाट रिहा समेत भएका थिए।
पहिलो संविधानसभाको निर्वाचनको बेला चुनावलाई प्रभावित पार्न २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको कसुरमा दोषी ठहर गर्दै रौतहट जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलमसहित चार जनालाई जन्ममकैदको सजाय सुनाएको थियो। त्यसबेला रौतहट जिल्ला अदालतले आलमसँगै उनका भाइ ममताब आलम, शेख सेराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको थियो।