डडेल्धूराः संघीय सरकारले डडेल्धुरा जिल्लामा तीन करोडभन्दा कम बजेटका विकास योजनाहरू काटेको सन्दर्भमा आज (मिति मंसिर २६ गते) राष्ट्रिय सभ्हा सदस्य माननीय जगत पार्कीको नेतृत्वको टोलिको डेलिगेसनले काठमाडौंमा सरोकारवाला मन्त्री तथा पदाधिकारीहरूसँग भेटघाट गरी ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय सभा सदस्य माननीय जगत पार्कीको नेतृत्वमा रहेको उक्त डेलिगेसनमा नेपाली कम्युनिस्ट पार्टीका परशुराम नगर अध्यक्ष तथा भागेश्वर माध्यमिक विद्यालय, कटालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिंह माल डायमण्ड, सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष डम्बर सिंह विष्ट, र सह-प्रधानाध्यापक श्याम प्रसाद पाण्डेय लगायत सहभागी थिए।
डेलिगेसनले डडेल्धुरामा सडक, पुल, खानेपानी, खेलमैदान, र तटबन्ध लगायतका महत्वपूर्ण आयोजनाहरूको बजेट काटिएका कारण स्थानीय जनतामा परेको असुविधाबारे जानकारी तथा ध्यानाकर्षण गराएको थियो।
उहाँहरूले माननीय अर्थमन्त्री, शिक्षामन्त्री, शहरी विकास मन्त्रालयका सचिव, र शहरी विकास विभागका महानिर्देशकलाई भेटेर समस्याको गाम्भीर्यताबारे अवगत गराउँदै ज्ञापनपत्र बुझाएका थिए।
भेटघाटको क्रममा, सरोकारवाला सबै मन्त्रालय र विभागका प्रमुखहरूबाट समस्या समाधानका लागि सकारात्मक आश्वासन प्राप्त भएको डेलिगेसन टोलिले जनाएको छ।











