काठमाडौं । असार १५ मा शिक्षा ऐन जारी नगरेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले देशव्यापी शैक्षिक हड्तालका कार्यक्रम घोषणा गरेको छ ।
उक्त संगठनले बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै व्यापारीको प्रभावमा परी शिक्षा ऐन रोकिएको आरोप समेत लगाउँदै देशव्यापी शैक्षिक हड्तालका कार्यक्रम घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष बिरेन्द्र शाहले सत्तासिन एमाले–काँग्रेसले आफ्ना मान्छेको चाहना अनुसार नै शिक्षा ऐन अड्काएर राखेकोले आफूहरुले हड्ताल घोषणा गर्नुपरेको बताए । संघीयता आएको लामो समय वितिसक्दासम्म पनि पुरानै ढाँचामा शैक्षिक क्षेत्र चल्नुमा व्यापारिक मनसाय रहेको उनले बताए ।
उनले भने, ‘बिचौलिया र शैक्षिक माफीयाको चलखेलमा वर्तमान ओली सरकार शिक्षालाई गरिवको पहुँचबाट थप टाढा लग्दैछ । यदि निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणाली लागु गर्ने गरी ऐन आएन भने शैक्षिक दलालका व्यापारिक महलमा आगो दन्काउन पछि पर्ने छैनौं ।’
संगठनका महासचिव उषाकिरण आजादले आउन लागेको शिक्षा ऐन संविधानको मर्म र भावना विपरित निजी र व्यापारिकरण गर्न पाउने योजनासहित ल्याइएको आरोप लगाए ।
आजादले ऐनमा प्रस्टसँग ठूला नेता, सरकारी कर्मचारीका छोरा–छोरीले निजी विद्यालयमा पढाउन नपाउने व्यवस्था उल्लेख गरिनुपर्ने माग राखे । कार्यक्रममा संगठनका उपाध्यक्ष रुपा बुढामगर, सचिव गोविन्द विष्ट, हरि विष्ट, कोषाध्यक्ष कमला परियार लगायतका नेताको उपस्थिति रहेको थियो ।
यस्ता छन् संगठनका संघर्षका कार्यक्रम
१. असार २० देखि २२ गतेसम्म संसद र दलका प्रमुखलाई ज्ञापनपत्र बुझाउने ।
२. आसार २३ र २४ गते देशैभर कोणसभा गर्ने ।
३. असार २६ र २७ गते सरोकारवालाहरुलाई पत्राचार गरी जनदबाब सिर्जना गर्ने ।
४.आसार ३० गते प्रदर्शन गर्ने ।
५. आसार ३२ गते पुत्ला दहन तथा मसाल जुलुस गर्ने ।
६. साउन २ गते देशभरका शैक्षिक संस्था बन्द तथा एकदिने देशव्यापी शैक्षिक हडताल गर्ने ।